१ कात्तिक, भक्तपुर । यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा शुरु भएको छ ।

भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा गत शनिबारबाट र चारपाङ्ग्रेको आजबाट शुरु भएको हो ।

भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहज रुपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधे राधेस्थित इजी वे ट्रायल सेन्टर प्रा.लि.सँग सम्झौता गरेको चार महिनापछि कार्यालयले भक्तपुर कार्यालयमा लिखित परीक्षा उत्तीर्ण गरेका नागरिकले भक्तपुरबाटै लाइसेन्सको ट्रायल परीक्षा दिन पाउने भएका हुन् ।

कार्यालय प्रमुख अनोज घिमिरेले भक्तपुरबाटै दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन अब काठमाडाँै जानु नपर्ने बताए । उनले भने, “गत शनिवारबाट भक्तपुरबाटै दुईपाङ्ग्रे र आजबाट चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा लिन शुरु गरेका छौँ, अब ट्रायल परीक्षा दिन काठमाडाँैमा जानु पर्दैन ।”

आज पहिलो दिन २५२ जनाले चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिएको उनले बताए ।

भक्तपुरको थिमिस्थित राधे राधेमा रहेको इजी वे ट्रायल सेन्टर प्रा.लि.ले सम्झौताअनुसार निःशुल्क ट्रायल परीक्षा सञ्चालन गर्न दिएको बताउँदै प्रा.लि.का प्रमुख निर्भयबाबु प्रसाईंले साधन प्रयोग गर्न दिए बापतको रकमसमेत नलिई निःशुल्क दिएको बताए । प्रसाईंले भने, “सम्झौताअनुसार यातायात व्यवस्था विभागलाई प्रयोगात्मक परीक्षा सञ्चालन गर्न निःशुल्क ठाउँ उपलब्ध गरायौँ, आवश्यक पर्ने सम्पूर्ण व्यवस्थासमेत गरिदियौँ, ट्रायल परीक्षा दिन आउनेलाई सवारीसाधन उपलब्ध गराएबापत समेत कुनै शुल्क लिएनौँ, निःशुल्क नै गर्यौं।”

यातायात व्यवस्था कार्यालयले काठमाडाँै र ललितपुरमा सञ्चालित ट्रायल सेन्टरमा भने भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले सवारीसाधन उपलब्ध गराएबापत सर्वसाधारणसँग शुल्क उठाउने गरिए पनि यहाँ भने निःशुल्क व्यवस्था गरिएको छ । भक्तपुर कार्यालयमा दैनिक ३०० भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेको बताउँदै कार्यालय प्रमुख घिमिरेले पनि ट्रायल दिने स्थानको अभावले एक सातामा दुई पाङ्ग्रेको ८५० र चारपाङ्ग्रेको २५० जनाभन्दा बढीलाई ट्रायल परीक्षामा सहभागी गराउन नसकिए पनि अब आए जति सबैलाई परीक्षामा सहभागी गराउने सक्ने बताए । –रमेश गिरी /रासस