६ भदौ, भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी चारदोबाटोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र बा ६७ प ६७५४ नम्बरको स्कुटर आपसमा ठक्कर ठक्कर खाँदा शुक्रबार बिहान एक जनाको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटार बस्ने २२ वर्षीय राजेश गोजाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढी बस्ने ३१ वर्षीय प्रबिण लोहलाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।