९ माघ, काठमाडौं ।
संघीय गठबन्धनका संयोजक समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई संघीय गठबन्धमा ल्याउने तयारीप्रति मधेसी मोर्चाले आपत्ति जनाएको छ ।

बाबुराम भट्टराईलाई ल्याउँदा आन्दोलन कमजोर हुने निष्कर्ष निकाल्दै भट्टराईलाई ल्याउन नहुने अडान लिएको छ ।

भट्टराई र यादवबीच कार्यगत एकता गरेर जाने सैद्धान्तिक सहमति भएपछि मधेसी मोर्चामा रहेको उपेन्द्र यादव बाहेका अन्य दल सहमत छैनन् । संघीय गठबन्धनबाट जनजाति सम्बद्ध दल बाहिरिने तयारी गरेपछि यादवले भट्टराईसँग कार्यगत एकता गर्न लागेका हुन् । तर मधेसी मोर्चाले तत्काल बाबुराम भट्टराईसँग कार्यगत एकता हुन नसक्ने बताएको छ ।

मधेसी मोर्चाका एक घटक तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बाबुराम भट्टराईसँग कार्यगत एकताको कुनै अर्थ र औचित्य नभएको बताए । उनले नेपाली हेडलाइन्सँग भने,‘बाबुराम भट्टराईसँग कार्यगत एकता गरे आन्दोलन झन कमजोर हुन्छ, भट्टराई ल्याउदा आन्दोलनलाई घाटा हुन्छ ।’

संघीय गठबन्धनसँग कार्यगत एकता गर्ने तयारी छ नि भन्ने जिज्ञासामा यादवले बाबुराम भट्टराई ल्याउदा आन्दोलन कमजोर हुन्छ भन्ने थाहा हुँदाहुँदै संघीय गठबन्धन एक्लैले कार्यगत एकता गरे मोर्चाको बैठक बसेर निर्णय लिने बताए ।