७ जेठ, काठमाडौं ।

कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट रेणु दाहाल उम्मेदवार बनिन् । तालेमेलमा कांग्रेसकी पार्वती शाहलाई उप्रमुखको उम्मेदवार बनाइयो ।

यसरी सत्तारुढ दुई दलबीच चुनावी तालमेल हुँदा कांग्रेसका सबै मतदाताले प्रमुखमा रेणुलाई र उप्रमुखमा आफ्नै पार्टीका उम्मेदवार शाहलाई भोट हाल्नुपर्ने थियो । माओवादीले प्रमुखमा आफ्नै पार्टीको तर्फबाट उम्मेदवार बनेकी रेणु र उप्रमुखमा कांग्रेसकी शाहलाई भोट हाल्नुपर्ने थियो ।

तर, मतगणना जारी हुँदा आएको परिणाम अनुसार सबै कांग्रेसका मतदाताहरुले रेणुलाई भोट हालेको देखिएको छैन ।

भरतपुरमा एमालेका देवी ज्ञवालीले १८ हजार एक सय ८५ मत (सबै मत आइतबार दिउँसो १२ बजेसम्मको) ल्याउँदा माओवादी केन्द्रकी दाहालले १७ हजार एक सय ४४ मत ल्याएकी छिन् । अझै ज्ञवालीले १०४१ मतले रेणुलाई पछि पारेका छन् । जबकी कांग्रेस–एमाले गठबन्धनकी कांग्रेस उम्मेदवार पार्वती शाहले १९ हजार सात सय ९४ मत ल्याएकी छिन् ।

तालमेलको भावना अनुसार पार्वती शाहलाई आए जति नै मत रेणुलाई पनि आउनुपर्ने हो तर, यस्तो देखिएको छैन । सरसर्ती हेर्दा २६५० मत रेणुलाई आएको देखिएको छैन । उनलाई यति मत आएको भए एमालेका उम्मेदवारभन्दा धेरै अघि हुन्थिन् । तर, तालमेलको भावना अनुसार कांग्रेसका मतदाताले रेणुलाई भोट नहालेको यहीबाट प्रष्ट हुन्छ । उता उप्रमुखमा एमालेकी उम्मेदवार दिब्या आचार्यले १५ हजार ९ सय १७ मत प्राप्त गरेकी छिन् ।

एमालेको पनि धोका
काठमाडौं र ललितपुरमा एमाले राप्रपा गठबन्धन थियो । दुवै महानगरमा एमालेको प्रमुख र राप्रपाको उपप्रमुखलाई अघि बढाइएको थियो । तर, काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्यले २४ हजार २२ मत ल्याएका छन् । तर, उपप्रमुखका उम्मेदवार राप्रपाका राजाराम श्रेष्ठले १३ हजार सात सय ८१ मतमात्र ल्याएका छन् ।

जबकी तालमेलको भावना अनुसार मत आएको भए श्रेष्ठले पनि एमालेका शाक्यको जति नै मत पाउनुपर्ने थियो । उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीले २२ हजार एक सय ९८ मत प्राप्त गरेक छिन् । जबकी कांग्रेस प्रमुखका उम्मेदवार राजुराज जोशीले १७ हजार ७७ मत मात्र ल्याएका छन् ।

कांग्रेसी मतदाताहरुले नै प्रमुखमा आफ्ना उम्मेदवार जोशीलाई मत नदिने तर, उप्रमुखमा कांग्रेसकै हरिप्रभालाई धेरै मत दिइनुले कांग्रेसभित्रै अन्तर्घात भएको बुझ्न गाह्रो छैन ।

उता ललितपुरमा पनि एमाले प्रमुखका उम्मेदवार १६ हजार दुई ४४ मत ल्याउँदा राप्रपाका उपप्रमुखका उम्मेदवार बाबुकाजी थापाले १० हजार चार मत मात्र प्राप्त गरेका छन् । तालमेल अनुसार भोट पाएको भए उनले पनि एमाले प्रमखुका उम्मेवदार हरिकृष्ण ब्यन्जनकारले जति नै भोट पाउनुपर्ने हो तर, सबै एमालेका मतदाताले थापालाई भोट दिएनन् ।