काठमाडौं, ८ चैत । चितवनको भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुखबीच बिगत लामो समयदेखिको बिवाद टुंगिएको छ ।

महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले विभिन्न विषयमा सहमति गरेसँगै विवाद टुंगीएको हो । दाहाल र शाहले विगत केही समयदेखि देखिएको असमझदारीलाई संवादको माध्यमबाट समाधान गरी पुनः त्यस्ता असमझदारी उत्पन्न हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

फाईल फाेटाे ।

निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुको परिपुरक भूमिका हुने कुरालाई दृष्टिगत गर्दै संबिधान, प्रचलित कानून र नीति तथा कार्यक्रमको मर्मअनुसार संलग्न सबैमा एउटै बुझाई गरिने सहमतिमा उल्लेख छ । यस्तै कार्यपालिका बैठक, कार्यपालिकाले गठन गरेको समितिहरुको बैठक संञ्चालन र निर्णयहरुको कार्यन्वयनलाई थप प्रभावकारी वनाउने, आबश्यकता अनुसार कार्यपालिका समितिहरु गठन गर्ने, समितिहरु गठन गर्दा बिषय बिज्ञ तथा सन्तुलित प्रतिनिधित्वलाई सुनिश्चित गर्ने लगायतका बुँदामा सहमति भएको प्रमुख दाहाल र उपप्रमुख शाहद्वारा संयुक्तरुपमा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा महानगरपालिकामा रहेका विकास निर्माणका सम्भावना, हालसम्मको उपलब्धि र भावी कार्यदिसा सम्बन्धमा थप उर्जाशील र क्रियाशील भई व्यवस्थित र समृद्ध महानगर बनाउने विषयमा एकाकार भएर अघि बढ्ने प्रतिवद्धता पनि जनाईएको छ ।