८ साउन, काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १९ मतदान गर्ने वा गणना गर्ने भन्ने कुराको आज अन्तिम सुनुवाई हुदैछ । सर्वोच्च अदालतले गएको सोमवार हेर्न नभ्याएपछि अन्तिम सुनुवाई आजका लागि सारिएको हो ।

उक्त मुद्धाको सुनुवाई आज न्यायाधीयशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गर्दैछ ।

भरतपुर १९ मा मत गन्ने क्रममा दलका प्रतिनिधिले ९० ओटा मतपत्र च्यातेपछि निर्वाचन आयोगले अनुसन्धान र प्राप्त प्रमाणका आधारमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

तर आयोगको निर्णयविरुद्ध त्यहि वडाका एमालेका खुला सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै गत जेठ २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

महानगरपालिकाको २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसकेको छ । १९ को केही र २० नम्बर वडाको मात्र मतगणना गर्न बाँकी छ । मतपत्र च्यातिएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने भन्दै आएका छन् भने नेकपा एमालेले मतगणनालाई निरन्तरता दिन माग गर्दै आएको छ ।

यसैबीच लामो समयसम्म निर्णय नहुँदा भरतपुर महानगरको काम कारबाही प्रभावित भएको छ । अन्तिम मतपरिणाम नआएकाले निर्वाचित वडा अध्यक्ष लगायतले समेत काम गर्न पाएका छैनन् ।