२२ भदौ, नयाँ दिल्ली । भारतको केन्द्र सरकारका मन्त्रीहरुले आ–आफ्ना कामको एक सय दिने प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् ।

सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी जनताका माझमा गएर केन्द्रीय १७ मन्त्रीले प्रगति विवरण प्रस्तुत गर्ने भएका हुन् ।

उनीहरुले छोटो समयमा गरेका ऐतिहासिक काम र निर्णयहरुलाई पुरस्कृत पनि गरिने अधिकारीहरुले जनाएका छन् ।

यही सेप्टेम्बर ९ र १० तारिखका दिन भारतका केन्द्रीय मन्त्रीहरुले कार्यभार सम्हालेको सय दिन पुग्न लागेको हो । सय दिन पुगेको दिन सबै मन्त्रीहरुले जम्मु, शिमला, चण्डीगढ, मुम्बई, राँची लगायतका देशका धेरै ठाउँमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

उनीहरुमध्ये सोमबार सडक यातायात तथा राजमार्ग मन्त्री नीतिन गड्करीले मुम्बईमा पत्रकार सम्मेलन गर्नुहुने भएको छ भने कोलकातामा महिला, बालबालिका विकास मन्त्री स्मृति इरानीले पत्रकार सम्मेलनको आयोजना गर्नुहुने भएको छ ।

त्यसैगरी अरु १५ जना मन्त्रीले पनि छुट्टा छुट्टै पत्रकार सम्मेलन मार्फत् आफ्नो प्रगति विवरण सार्वजनिक गर्ने भएका छन् ।

सरकारले बनाएको योजना अनुसार मन्त्रीहरु निर्मला सीतारामले चेन्नेइमा, रामविलास पासवानले पटना, रविशंकर प्रसादले अहमदावाद, हरसिम्रत कौर बादलले चण्डीगढ, थवरचन्द गहलोटले रायपुर, अर्जुन मुन्डाले राँचीमा पत्रकार सम्मेलन गर्ने तय भएको छ ।

त्यसैगरी मुख्तर अब्बास नक्वीले अलाहबाद, प्रल्हाद जोशीले गोआ, गजेन्द्र सिंह शेखवातले जयपुर, रमेश पोख्रियाल निशांकले देहरादुन, जितेन्द्र सिंहले जम्मु, राजकुमार सिंहले हैदरावाद, मनसुख एल माण्डव्यले भुवनेश्वर, अनुराग ठाकुरले शिमला र नरेन्द्र सिंह टोमरले ग्वालिअरमा कार्यक्रम आयोजना गर्नुहुने जनाइएको छ ।

उनीहरुले आफ्नो मन्त्रालयले गरेको कामहरुसँगै काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याउनेगरी संविधानको धारा ३७० खारेज गरेका जस्ता राष्ट्रिय सुरक्षा, राष्ट्रियताका विषयमा सरकारका कामहरुको प्रचार गर्ने भएका छन् ।

प्रधानमन्त्री मोदी गत मे २३ तारिखमा सार्वजनिक भएको आम निर्वाचनको नतिजा अनुसार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो भने उहाँले मे ३० का दिन सपथग्रहण गर्नुभएको थियो । रासस-एएनआई