२९ साउन, एजेन्सी । भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेपछि पाकिस्तानले एकतर्फी रुपमा भारतसँगको विभिन्न सम्बन्ध तोडेको छ ।

उसले कुटनीतिक सम्बन्ध तोड्यो । दुईतर्फी ब्यापार बन्द गर्यो । दुई देशबीचको रेल र बस सेवा पनि रोक्यो । कश्मीरको यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा छलफल गर्नुपर्ने माग गरेको छ । तर अनौठो कुरा त यो छ कि भारतले आफ्नो देशभित्र गरेको निर्णयलाई लिएर पाकिस्तानको टाउको यति धेरै किन दुख्यो ? कश्मीर मुद्दालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खान किन यति धेरै माथापच्ची गरिरहेका छन् ?

एउटा दिग्गज क्रिकेटरसमेत रहेका इमरान भारतमा रहेका मुसलमान समुदायको धेरै चिन्ता गरिरहेका छन् । यसको पछाडीको कारण के हुन सक्ला भनेर विभिन्न टिका टिप्पणी हुने गरेको छ । भारत र पाकिस्तान दुवै जन्मजात शत्रु हुन् । यतिसम्मकी दुवै देशका प्रधानमन्त्रीले हात मिलाउँदा वा नमिलाउँदा अन्तर्राष्ट्रिय संचारमाध्यामले हेडलाइन नै बनाउने गरेका छन् ।

इमारान खान प्रधानमन्त्री भइसकेपछि भारतसँगको सम्बन्ध सुधार गर्न चाहन्थे तर सफल भएनन् । चुनावको मुखमा भएकाले मोदीले सन्तुलनको रणनीति अख्तियार गरे । जब दोस्रो पटक उनी प्रधानमन्त्री बने त्यसपछि उनले पाकिस्तानलाई खासै महत्व दिएनन् । सन् १९४७ मा दुई देश बनेसँगै अहिलेसम्म कुनै दिन भारत र पाकिस्तानबीचको सम्बनध सुमधुर हुन सकेन । पाकिस्तानका पूर्व राजदुत अंकिल नदीमले हालै प्रकाशित एक लेखमा लेखेका छन् कि पाकिस्तान कश्मीरको बद्लिँदो परिवेषको फाइदा उठाउन चाहन्छ ।

“भारतका मुसलमानहरुलाई एकजुट गरेर भारत विरुद्ध नै प्रयोग गर्ने पाकिस्तानको एउटा रणनीति हुन सक्छ ।”उनले लेखेका छन् । भारतीको इतिहासमा कुनै पनि सरकराले अहिलेसम्म कश्मीरको विशेषाधिकार खोस्ने हैसियत राखेनन् तर नरेन्द्र मोदीको सरकारले ठूला चुनौतिलाई शिरोधार्य गर्दै यसलाई व्यवहारमै उतार्यो । त्यसैले पनि भारतसँग पाकिस्तान अहिले यति धेरै रुष्ट भएको हो । विश्लेषकहरु भन्छन्, यो पाकिस्तानी अधिकारीहरुलाई भारतीय जनता पार्टी (बिजेपी)लाई असल दुश्मन सावित गर्ने दुलर्भ अवसर हो । ”

जहासम्म भारतमा बस्ने मुसलमान समुदायको कुरा हो । यसलाई पाकिस्तानी सरकारी मिडिया र केही हदसम्म निजी मिडियाले पनि सरकारी दबाबमा परेर भारतमा बस्ने मुसलमानलाई पिल्सिएका नागरिकका रुपमा चित्रित गर्ने गथ्र्यो । गाइ काट्ने विषय जहाँसुकै आएपनि पाकिस्तानी संचारमाध्यामले बढाइ चढाइ गरेर प्रस्तुत गर्ने गर्दथे । केही विश्लेषक भारतका मुसलमान समुदायलाई पाकिस्तानको फस्र्ट लाइन अफ डिफेन्स बनाउन पनि सुझाव दिन्छन् ।