१७ कात्तिक, एजेन्सी । जम्मू काश्मिरलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन गरेपछि भारतले जारी गरेको नयाँ राजनीतिक नक्सा पाकिस्तानले खारेज गरिदिएको छ ।

भारतले जम्मु कश्मिरको विशेषाधिकारको व्यवस्था गरिएको संविधानको धारा ३७० गएको ५ अगस्टमा हटाएको थियो । योसँगै राज्य दुई वटा केन्द्र शासित प्रदेश (जम्मू कश्मीर र लद्दाख) मा विभाजन भएको छ । यस निर्णयपछि ३१ अक्टोबरमा दुई केन्द्रशासित प्रदेश अस्तित्वमा आएका छन् । त्यसपछि भारतको गृह मन्त्रालयले २ नोभोम्बरमा एक राजनीतिक नक्सा जारी गरेको छ जसलाई भारतले अस्वीकार गरेको हो । यो नक्सामा दुई नयाँ केन्द्र शासित प्रदेशसँगै गिलगित बाल्टिस्तान र पाकिस्तान प्रशासित कश्मीरको भाग पनि देखाइएको छ ।

पाकिस्तान प्रशासित कश्मीर र गिलगित बाल्टिस्तानको क्षेत्र भारतको क्षेत्रीय अधिकार क्षेत्रभित्र देखाउनुलाई पाकिस्तानले गलत, कानुनी रुपले अपुष्ट, अमान्य र संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको पूर्ण उल्लंघन भएको पाकिस्तानको ठहर छ । पाकिस्तानले भनेको छ, हामी जोड दिएर भन्न चाहन्छौ, भारतको कुनै पनि कदम संयुक्त राष्ट्रसंघले दिएको कश्मीरको विवादित दर्जा बदल्न सक्दैन । भारतको यस्तो निर्णयले भारत प्रशासित जम्मू कश्मीरमा रहने मानिसको आत्मनिर्णयको अधिकारमा कुनै असर नपर्ने पाकिस्तानको तर्क छ ।