१९ कात्तिक, काठमाडौं । नेपालका हरेक गतिविधि भारतबाट प्रभावित र निर्देशित हुने गरेको कुनै नौलो विषय होइन । भारतबाट नाकाबन्दीसम्मको व्यवहार खेपिसकेका नेपालीका लागि राजनीतिक चासो र हस्तक्षेप नयाँ नलाग्नु स्वभाविक पनि हो ।

वर्षौदेखि सिमा स्तम्भ हराउनु, जंगे पिलर वर–वर सर्दै आउनु, सीमा क्षेत्रका बासिन्दाले एसएसबीको ज्यादती खेप्नु पुरानै नियति हो । यहि बीचमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको छ । जसले नेपाललाई ठूलो झड्का दिएको छ । जम्मू कश्मीर केन्द्र शासित दुई वटा प्रदेश बनेपछि सार्वजनिक नयाँ नक्सामा नेपाली भूमि पनि आफ्नाे बनाएकाे छ । हालै सार्वजनिक नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि भारतले राखेकाे छ ।

यसको सवत्र विरोध भइरहेपनि सरकारको आधिकारिक धारणा भने बाहिर आएको छैन । राप्रपा अध्यक्ष कमल थापाले ट्वीटरमा पीएम नेपाललाई मेन्सन गर्दै भनेका छन्, ‘कालापानी लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनाधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ । हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न ध्यान जाओस् ।’