२९ मंसिर, एजेन्सी । भारतको सिफारिसमा संयुक्त राष्ट्रसंघले मे २१ तारिखलाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ ।

भारतले ४ बर्ष अघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य तथा कृषि संगठन (एफएओ)को अन्तरसरकारी समूहको बैठकमा यस्तो प्रस्ताव राखैको थियो । अहिले हरेक वर्ष १५ डिसेम्बरमा चिया उत्पादन गर्ने देशहरुले अन्तर्राष्ट्रिय चिया दिवस मनाउने गरेका छन् । यसअघि भारतकै प्रस्तावमा जुन २१ लाई राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेपछि यसको उत्पादन र खपत बढाउन सहयोग पुग्ने राष्ट्रसंघको विश्वास छ ।

यसले ग्रामीण क्षेत्रमा गरिबी र भोकमरीसँग लड्न सहयोग हुनेछ । संयुक्त राष्ट्रसंघको महासभाले चियाको औषधीय गुणका साथ साँस्कृतिक महत्वलाई पनि मान्यता दिएको छ ।
संयुक्त राष्ट्रसंघले सबै सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय र क्षैत्रीय संगठनसँग अपिल गर्दै हरेक वर्ष मे २१ तारिखमा अन्तर्राष्ट्रिय चिया दिवस मनाउने आह्वान गरेको छ । दिवसका अवसरमा ग्रामिण अर्थव्यवस्था बलियो बनाउन सहयोग पुग्ने कार्यत्रमहरु गर्न पनि राष्ट्रसंघले भनेको छ ।

चिया उत्पादनका लागि मे महिना सबैभन्दा राम्रो मानिने भएकाले मे महिनालाई रोजिएको हो ।
अहिलेसम्म नेपालसहित भारत, बंगलादेश, इण्डोनेशिया, श्रीलंका, तान्जानियालगायतका देशले डिसेम्बर १५ मा अन्तर्राष्ट्रिय चिया दिवस मनाउँदै आएका थिए । एक आइएनजिओले सुरुवात गरेको कार्यक्रम अनुशरण गर्दै आएका देशहरुले पनि अब मे १५ मै अन्तर्राष्ट्रिय चिया दिवस मनाउनेछन् ।