६ चैत, सुर्खेत । कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईमा सञ्चालित स्वास्थ्य सहायताकक्ष (हेल्थ डेस्क)मा छिमेकी मुलुक भारतबाट फर्किनेको जाँचमा निगरानी बढाइएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित बिरामी बढ्दो क्रममा रहेपछि कर्णाली सरकारले उच्च सतर्कता अपनाइ जाँच गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

भारतसँगको खुला सिमानाका कारण सङ्क्रमितहरु सहज आउन सक्ने भएकाले चौबिसै घण्टा उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि रोजगारीका क्रममा त्यहाँ रहेकाहरु धमाधम घर फर्कन थालेका छन् । यसले गर्दा नेपालगञ्ज–सुर्खेत (रत्न राजमार्ग) मा यात्रुको चाप बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले रत्न राजमार्गको बबईबाट दैनिक १०० बढी यात्रु भारतबाट फर्कने गरेका बताए ।

बबई हेल्थ डेस्कमा बुधबार थप ३२ स्वास्थ्यकर्मी पठाइएको छ । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता विष्णुप्रसाद अधिकारीले यात्रुको चाप बढी रहेकाले छिटो–छरितो एवं प्रभावकारी जाँच गर्न स्वास्थ्यकर्मी र ज्वरो जाँच गर्ने उपकरण पठाइएको जानकारी दिए । मन्त्रालयले आज २६ नर्सिङ स्टाफ खटाउने तयारी गरेको छ । कर्णालीबाट रोजगारीका लागि भारतीय शहर जानेको सङ्ख्या अत्यधिक रहेकाले उनीहरु सङ्क्रमित भएर फर्कन सक्ने हुँदा जाँचमा उच्च सतर्कता अपनाइएको निमित्त सचिव अधिकारीको भनाइ छ । त्यस्तै, कोरोना भाइरसका बिरामीलाई लक्षित गरेर कर्णाली प्रदेश अस्पतालमा पाँच आइसोलेसन तथा २० क्वारेन्टाइन श्यया तयारी अवस्थामा राखिएको छ ।

प्रदेश सरकारले बबईका साथै उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएको उत्तरी नाका हुम्लाको हिल्सा, राप्ती राजमार्गमा पर्ने सल्यानको कपुरकोट, सुर्खेत विमानस्थल र पश्चिम सुर्खेतको कुइनेमा हेल्थ डेस्क स्थापना गरेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत विमानस्थलमा दैनिक ४५, बबई नाकामा दैनिक तीन हजार, हुम्ला विमानस्थलमा दैनिक ४०, पश्चिम सुर्खेतको कुइनेबाट दैनिक ६०, सल्यानको कपुरकोट नाकाबाट दैनिक एक हजार जना यात्रुको ज्वरो, रुघाखोकी जाँच गर्ने गरिएको छ ।

यसैबीच, कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका दुई जनामा सङ्क्रमण नभएको पाइएको छ । प्रदेश अस्पतालमा भर्ना भएका ३७ वर्षीय र अर्का एक दुई वर्षीय बालकको नमूना परीक्षण गर्दा नेगेटिभ भएको पाइएको हो । अस्पतालका चिकित्सक नवराज केसीका अनुसार विदेशीसँग सम्पर्कमा रहेका शङ्कास्पद ती बिरामीमा ‘माइनर फ्लु’ देखिएकाले कोरोना भाइरस परीक्षणका लागि पहिलोपटक केन्द्रीय प्रयोगशालामा नमूना पठाइएको थियो । रासस