२४ फागुन, एजेन्सी । चीनबाट शुरु भएको कोरोनो भाइरसबाट संसारभरका १ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । कोरोनाबाटै ३४ सय ८३ जनाको मृत्यु भइसकेको अवस्थामा ५० हजार भन्दा बढी मानिसहरु अहिले डाक्टरको प्रत्यक्ष निगरानीम उपचार गराइरहेका छन् ।

यसैबीच भारतमा कोरोनाको संक्रमितको आशंकामा अस्पताल भर्ना गरिएको एक व्यक्ति शुक्रबार राति अस्पतालबाट भागेका छन् । विमानस्थलमा नियमित चेकजाँचको क्रममा आयरिश नागरिकको तापक्रम बढी भएपछि उनलाई आइसोलेसनमा राख्नको लागि अस्पताल लगिएको थियो ।

अस्पतालबाट कोरोना संक्रमितको आशंका गरिएका मानिस भाग्दा अहिले शहरभरी आतंक फैलिएको छ । प्रहरीले उनले खोजी गरिरहेको छ । अहिलेसम्म उक्त आयरिस नागरिकलाई भेट्टाउन नसकिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले समाचार लेखेका छन् ।

यसअघि काठमाडौंको टेकु अस्पतालमा पनि कोरोनाको आशंकामा आइसोलेसनमा राखेका दुई बिरामी भागिसकेका छन् । एक साता अघि साउदी अरबका नागरिक भागेका थिए भने केहीदिन अघि नेपाली नागरिक नै आइसोलेसनबाट भागेका थिए । उनीहरु अस्पतालको पछाडिको झ्यालबाट भागेका थिए ।