४ माघ, एजेन्सी । भारतको राजधानी दिल्लीमा भोलिदेखि नयाँ सुरक्षा कानुन लागू हुने भएको छ । कानुनले २०२० को अप्रिल १८ सम्म आपतकालीन अवस्थामा जोकोही व्यक्तिलाई पनि हिरासतमा राख्ने अधिकार दिएको दिल्लीका उपराज्यपाल अनिल बैजलले बताएका छन् ।

गत पुस २६ गते जारी गरिएको कानुनअनुसार अब कोही पनि व्यक्तिलाई पक्राउ गर्नुको कारण नबताइ एक वर्षसम्म हिरासतमा राख्न सकिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कानुनी व्यवस्था र देशको सुरक्षाको लागि कोही व्यक्तिमाथि प्रशासन र अधिकारीले शंका गरे पक्राउ गर्न सक्ने अधिकार यो कानुनमा छ । दिल्लीमा नागरिकता संसोधन कानुन र नेश्नल रजिस्टर अफ सिटिजन्सको विरुद्ध आन्दोलन चलिरहेका बेला यो कानुन पारित भएको थियो ।