२१ कात्तिक, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा नेपाललाई मान्य नहुने बताएका छन् ।

मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले भारतले जारी गरेको राजनीतिक नक्सा हामीले अस्वीकार गर्ने जानकारी भारतलाई दिइसकेको बताए । ‘हामीले हाम्रो अडान प्रष्ट पारिसकेका छौं । राजनीतिक र कुटनीतिक रुपमा समस्याको समाधान गर्ने हो ।’ मन्त्री बास्कोटाले भने, ‘एतिहासिक तथ्य, प्रमाण र दसीका आधारमा कालापानीको भूभाग हाम्रो हो ।’

मन्त्री बास्कोटाले सरकार नेपाली भूभाग मिच्न नदिनेमा अडिग रहेको पनि दाबी गरे । हामी मिच्न दिँदैनौ । हाम्रो असहमति राखिसकेका छौं । उनले भने, ‘वि‍.सं.२०१८ सालमै कालापानीमा जनगणना भइसकेको छ । राजश्व संकलन पनि गरिसकेका छौं । अनि कसरी भारतको हुन्छ ?’ उनले नेपालको सार्वभौकिताको रक्षा गर्न सरकार अडिग रहेको स्पष्ट पारे ।