१८ पुस, काठमाडौं
सिनियर होस् वा जुनिएर वा महिला टिम नै किन नहोस् भारतविरुद्धको खेललाई नेपाल, नेपालीले निक्कै महत्वका साथ लिने गरेका छन् । यस्तै अवस्थाकाबीच दक्षिण एसियाली महिला फुटबल अन्तर्गत सेमिफाइनलमा आज नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतविरुद्ध त्यो पनि उसकै मैदानमा खेल्दै छ ।

यस अघि साफ च्यम्पियनसीपको फाइनलमा मात्र भारतसँग भेट पक्का गर्ने र हार्ने पीडा भोग्दै आएको नेपाली टिम आज दिउसो दुई बजे भारतविरुद्ध खेल्दा भने सेमिफाइनल खेल नै फाइनल जत्तिकै महत्वको हुनेछ । किनकी यही सेमिफाइनल जित्ने टोली सम्भवतः विजेता बन्न सक्नेछन् । प्रतियोगितामा मुख्य दाबेदार टोली नै यी दुई हुन् । तर, आजको खेल नेपालका लागि सहज भने पक्कै छैन ।

nepal-india-flag

किनकी भारतविरुद्ध नेपाल यस अघिका ६ वर्षमा ५ पटक विभिन्न प्रतियोगिताको फाइनल खेल्दै पराजित भइसकेको छ । यस्तोमा आजको खेल पनि नेपालका लागि फाइनलभन्दा कम छैन । ७ खेल खेल्दा ५ खेला गुमाएको नेपालको अहिलेसम्मको भारतविरुद्धको सुधारिएको प्रदर्शन भन्नु नै एक खेलमा गोलरहित बराबरी खेल्नु हो । त्योबाहेक भारतविरुद्ध जित हार्न नसक्दा नेपाली टोलीमाथि दबाब पनि छ।

साथै, इतिहास उल्ट्याउने स्वर्णिम अवसर पनि छ । किनकी इख लिएर खेल्दा नेपाली महिला टोली विजयी बन्न पनि सक्नेछ । यस अघिका खेलमा भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० को सहज ढंगमा पराजित गरेको नेपालले श्रीलंकालाइई १–० गोलले पराजित गरेको थियो । नेपाल आफ्नोतर्फ समूह विजेता हो भने भारत यसपटक समूहमा उपविजेता बन्न पुग्यो । सोहीकारण पनि नेपालसँग सेमिफाइनलमा खेल्नुपरेको हो ।

नेपाली टिमकी कप्तान रेनुका नगरकोटी चिरपरिचित भारतलाई कडा टक्कर दिने बताउँछिन् । आफूहरुले यस अघिका खेल राम्रो खेलेको भन्दै उनले अबको खेलमा पनि भारतविरुद्ध राम्रो खेल्ने बताएकी हुन् । यता भारतीय टिमका प्रशिक्षक सजित धरले पनि नेपाली टिमको प्रशंसा गरेका छन् । नेपाली टोली पहिलेको तुलनामा निक्कै राम्रो रहेको भन्दै उनले कमजोर रुपमा नलिने बताएका हुन् ।

नेपाली टिमका प्रशिक्षक कुमार थापा पनि यसपटक भारतसँगको खेल खास हुने बताउँछन् । भारतलाई हराएर फाइनल पुग्न नेपाली टिम आतुर रहेको बताए ।

नेपाली खेलाडीहरु शतप्रतिशत फिट रहेको भन्दै उनले नतिजा नेपालकै पोल्टामा आउने आशा उनले म्याच अघि व्यक्त गरेका छन् ।

साफका २०१०, २०१२ र २०१४ मा पनि नेपाल फाइनलमा भारतसँगै पराजित हुँदै उपाधिविहीन बन्न पुग्नुपरेको थियो । साग खेलकुद अन्तर्गत २०१० र २०१६ को स्वर्ण पदकको खेलमा पनि नेपाली टोली भारतसँग नै पराजित हुन पुगेको थियो । त्यसैले हारमाथि हारको निरन्तरको श्रृखला तोड्न सके आजको दिन नेपाली महिला फुटबलको लागि ऐतिहासिक र स्वर्ण हुनेछ किनकी बलियो भारतलाई रोक्दा यी सफलता हात पर्नेछन् । इतिहास रचिनेछ । तर, त्यो के हुन्छ हेर्न भने आज दिउसो सिलिगुढीस्थित कंचनजंघा मैदानमा दिउसो २ बजे हुने खेलको डेढ घण्टा नै कुर्नपर्नेछ ।

नेपाली टिमकी सावित्री भण्डारी दुई खेलमा ११ गोल गरे पछि उनले आजको खेलमा पनि नेपालको लागि राम्रो योगदान गर्नेमा प्रशिक्षकले आशा व्यक्त गरेका छन् ।

साफ च्यापियनसिप –नेपाल र भारत भिड्ने

पुरुष फुटबल हेर्ने कोशिस गरेको भन्दै महिलालाई १ वर्ष कैद