३१ साउन, एजेन्सी । भारतीय क्रिकेट टिमका प्रशिक्षकको घोषणा आज हुने भएको छ । मुम्बईमा कपिल देवको नेतृत्वमा रहेको क्रिकेट एड्भाइजरी काउन्सिलले ६ जना उम्मेदवारको अन्तरवार्ता लिइरहेको छ ।

अन्तरवार्ता सकेपछि आजै बेलुकी सवा ७ बजे क्रिकेट कोचको घोषणा गर्ने तयारी छ । वेष्टइण्डिजको भ्रमणमा रहेका वर्तमान प्रशिक्षक रबी सास्त्रीले उतैबाट भिडियो कन्फ्रेन्समार्फत् अन्तरवार्तामा भाग लिँदैछन् । शास्त्रीसहित प्रशिक्षक बन्ने दौडमा न्यूजिल्याण्डका पूर्व प्रशिक्षक माइक हसन, अष्ट्रेलियाका पूर्व अलराउण्डर टम मुडी, वेष्टइण्डिजका पूर्व ओपनर फिस साइमन्स, भारतीय टिमका पूर्व म्यानेजर लालचन्द राजपुत र भारतकै पूर्व फिल्डिङ कोच रबिन सिंह रहेका छन् ।

कपिल देव नेतृत्वको एडभाइजरी काउन्सिलमा भारतीय क्रिकेट टिमका पूर्व ओपनर अंशुमान गायकवाड र महिला क्रिकेट टिमकी पूर्व कप्तान शान्ता रंगास्वामी सहभागी छन् । ६ जनामध्ये वर्तमान प्रशिक्षक रबि शास्त्री अगाडि छन् । कप्तान विराट कोहलीले समेत रुचाएकाले शास्त्रीको संभावना बढी रहेको भारतीय संचारमाध्यामले जनाएका छन् ।

शास्त्री र वर्तमान कोचिङ स्टाफका कार्यकाल विश्वकप पछि समाप्त भइसकेको छ । तर शास्त्रीको अनुबन्ध ४५ दिनका लागि थप गर्दै नयाँ प्रशिक्षक नियुक्तीको प्रक्रिया अघि बढाइएको हो । बोर्डले मागेको आवेदनमा दरखास्त दिएका २ हजार जनामध्येबाट ६ जनालाई प्रारम्भिक छनौट गरि अन्तरवार्ता लिइएको हो ।