३१ साउन, एजेन्सी । भारतीय राष्ट्रिय क्रिकेट टिमलाई रवी शास्त्रीले नै सम्हाल्ने भएका छन् ।शास्त्रीलाई नै टिमको प्रशिक्षक चयन गरिएको हो । मुम्बईमा कपिल देवको नेतृत्वमा रहेको क्रिकेट एड्भाइजरी काउन्सिलले ६ जना उम्मेदवारको अन्तरवार्ता लिएपछि रवि शास्त्रीको नाम सार्वजनिक गरेको हो ।

वेष्टइण्डिजको भ्रमणमा रहेका वर्तमान प्रशिक्षक शास्त्रीले उतैबाट भिडियो कन्फ्रेन्समार्फत् अन्तरवार्ता दिएका थिए । शास्त्रीसहित प्रशिक्षक बन्ने दौडमा न्यूजिल्याण्डका पूर्व प्रशिक्षक माइक हसन, अष्ट्रेलियाका पूर्व अलराउण्डर टम मुडी, वेष्टइण्डिजका पूर्व ओपनर फिस साइमन्स, भारतीय टिमका पूर्व म्यानेजर लालचन्द राजपुत र भारतकै पूर्व फिल्डिङ कोच रबिन सिंह रहेका थिए् ।

कपिल देव नेतृत्वको एडभाइजरी काउन्सिलमा भारतीय क्रिकेट टिमका पूर्व ओपनर अंशुमान गायकवाड र महिला क्रिकेट टिमकी पूर्व कप्तान शान्ता रंगास्वामी सहभागी थिए् । कप्तान विराट कोहलीले समेत रुचाएका शास्त्रीको सम्झौता अवधि सकिएपछि ४५ दिनका लागि थप गरिएको थियो । यो अवधिमा प्रशिक्षकका लागि आवेदन माग्दै नयाँ प्रशिक्षक नियुक्तीको प्रक्रिया अघि बढाइएको थियो । जसमा विश्वभरबाट २ हजारले आवेदन दिएका थिए ।