२८ असोज, काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्वकप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को नयाँ अध्यक्ष बन्ने क्रममा छन् । २३ अक्टोबरदेखि गांगुलीको नेतृत्वमा प्रशासनको नयाँ टीम सम्हानेछन् ।

बोर्ड अध्यक्ष बनेपछि गांगुलीलाई करोडौं रुपैयाँ घाटा लाग्ने भएको छ । अध्यक्षको रुपमा गांगुलीको कार्यकाल जम्मा १० महिनाको हुनेछ । अध्यक्ष पदमा १० महिनाको लागि बसेता पनि पछि उनले ६ वर्षसम्म बीसीसीआईको जुनसुकै पदमा बस्न पाउँछन् ।

४२ वर्षीय गांगुलीले अहिले कमेन्ट्री पनि गर्दै आएका छन् । टिभी शोहरुमा बिशेषज्ञको भूमिकामा पनि उनी देखिँदै आएका छन् । र उनी आईपीएलम दिल्ली क्यापिटल्सको मेन्टरको रुपमा पनि काम गर्दै आएका छन् । बीसीसीआईको अध्यक्ष बन्नेबित्तिकै उनले यी सबैकुरा छाड्नुपर्ने हुन्छ ।

यसैगरी उनी ५ वर्षदेखि आवद्ध बंगाल क्रिकेट एसोसियसन पनि उनले छाड्नुपर्ने हुन्छ । जसकारण उनलाई करोडौंको नोक्सान हुनजान्छ । भारतीय मिडियाका अनुसार १० महिनाको अवधिमा उनलाई ७ करोडभन्दा बढीको नोक्सान हुनेछ ।