३ असार, श्रीनगर (भारत प्रशासित काश्मिर), भारत प्रशासित काश्मिरमा पछिल्ला केही दिनयता तनाव बढेको समाचार छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् ।

भारत प्रशासित काश्मिरको अनन्तनाग जिल्लाको अर्वानी गाउँमा शुक्रबार साँझ भएको भिडन्तमा परी तीनजना हतियारधारी मारिएका छन् ।

मारिनेमा एकजना लस्कर ए तोएबा नामक सशस्त्र संगठनका कमाण्डरको पनि ज्यान गएको भारतीय प्रहरीले जनाएको छ ।

श्रीनगरबाट ४६ किलोमीटर दक्षिणमा पर्ने सो गाउँमा प्रहरी गस्तीमा रहेको समयमा सशस्त्र समूहले प्रहरीमाथि नै गोली चलाएको थियो । त्यसमा परी ती हतियारधारी मारिएका हुन् ।

काश्मिरमा गत बुधबारमात्र पनि बन्दुकधारी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो । त्यस क्षेत्रमा केही दिनयतादेखि हिंसा भड्किएको छ । रासस÷एएफपी