१५ मंसिर, नयाँ दिल्ली । भारत र श्रीलङ्कामा बिहीबार रातिबाट शुक्रबार बिहानसम्म आएको शक्तिशाली आँधीको कारण कम्तीमा पनि १६ व्यक्तिको मृत्यु भएको समाचार छ ।

सो आँधीबाट अन्य १०० जना व्यक्ति वेपत्ता हुनुका साथै आँधीका कारण यी दुबै देशमा सयौँ रुख ढल्नुको साथै विद्युतीय लाइनहरु अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।

आँधीले सडक छेउका घरहरु भत्काएको वा उडाएको बताइएको छ । आँधी प्रभावित क्षेत्रमा लाखौँ व्यक्तिलाई सो क्षेत्र खतरायुक्त भएको चेतावनी दिइएको छ ।

भारतको दक्षिणी भू–भाग तामिल नाडू र केरला प्रान्त बढी प्रभावित भएको छ भने श्रीलङ्काको दक्षिणी र मध्य प्रान्तहरुमा क्षति पुगेको छ ।

ती क्षेत्रका सवै बिद्यालय दुई दिनयता बन्द रहेका छन् । सडक, रेलमार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । प्रकोप नियन्त्रण अधिकारका अनुसार आँधीको कारण भारतमा नौ र श्रीलङ्कामा सात व्यक्तिको मृत्यु भएको छ ।

प्रायः व्यक्तिहरु रुख ढलेको र ती ढलेको रुखहरुले किचेर मृत्यु भएको बताइएको छ ।

यस आँधीको कारण तटीय क्षेत्रको समुद्रमा माछा मार्ने डुङ्गाहरु समेत सबै उडाएको भारतका रक्षामन्त्री निर्मला सिथारमानले बताएकी छन । हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए । उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ ।

शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो । बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण बर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ । रासस/एएफपी