२९ पुस, एजेन्सी । भारतविरुद्ध तीनखेलको एकदिवसीय श्रृंखलाको पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको छ । मंगलबार भारतको मुम्बईस्थि वाङखेडे स्टेडियममा भएको खेलमा अस्ट्रेलिया १० विकेटले विजयी भएको हो ।

२ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ओभरमा विनाविकेटको क्षति लक्ष्य पूरा गर्यो । अस्ट्रेलियाका लागि एरोन फिन्च र डेभिड वार्नरले शतक प्रहार गरे । १ सय १२ बलको सामना गरेका वार्नरले ३ छक्का र १७ चौका प्रहार गर्दै १ सय २८ रन बनाए । त्यस्तै १ सय १४ बलको सामना गरेका फिन्चले २ छक्का र १३ चौका प्रहार गर्दै १ सय १० रन बनाए । उनीहरु दुबैले नटआउट खेले । भारतका कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४९ ओभर १ बलमै सबै विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । भारतका लागि शिखर धवनले सर्वाधिक ७४ रन बनाए । १ छक्का र ९ चौकाको साथमा धवनले ७४ रन बनाएका हुन् । यस्तै केएल राहुलले ४७, रिसव पन्तले २८, रविन्द्रसिंह जडेजाले २५ र कुलदीप यादवले १७ रन बनाएका थिए । बलिङतर्फ अस्ट्रेलियाका मिचल स्र्टकले ३ तथा पट कुमिन्स र केन रिचर्डसनले समान २–२ विकेट लिए ।

श्रृंखला अन्तर्गतको दोश्रो र तेश्रो खेल जनवरी १७ र १९ तारिखमा हुनेछ ।