२१ मंसिर, पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत पोखरामा सञ्चालित भारोत्तोलन प्रतियोगितामा नेपालका कमलबहादुर अधिकारी दम्पतीले कास्य पदक प्राप्त गरेका छन् । पोखरा महानगरपालिका–१२ माटेपानीमा आयोजित प्रतियोगिताको शुक्रबार पुरुष ६७ केजी तौल र उनकी धर्मपत्नी राज्यलक्ष्मीले ७१ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएका छन् ।

१०औँ संस्करणका स्वर्ण विजेता कमल १३औँमा पुरुषतर्फका सो समूहमा कास्यमा सीमित भएका हुन् । प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८३ सहित कूल १५० किलो भार उठाउँदै कास्य हात पारिन् । यस्तै सो स्पर्धामा भारतले स्वर्ण र बङ्गलादेशले रजत पदक जित्नुभयो । भारतकी मनप्रीत कौरले स्न्याचमा ८५ र क्लिन एन्ड जर्कमा १०७ गरी कूल १९२ किलो भार बहन गरी स्वर्ण जितेकी हुन् । बङ्गलादेशकी रोकेया सुल्तान साठीले स्न्याचमा ७० र क्लिन एन्ड जर्क विधामा ८५ गरी कूल १५५ किलो बहन गर्दै रजतमा सीमित रहिन् ।

उता, महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कास्य पदकभन्दा माथि उठ्न सकिनन् । नेपाल प्रहरीमा आबद्ध उहाँले १२औँ संस्करणमा नेपाललाई कास्य दिलाएकी थिइन् । यसपालि उनले १५३ किलो तौल उठाउँदै कास्य जितेकी हुन् । उनले स्न्याचमा ६८ र क्लिन एन्ड जर्कमा ८५ किलो तौल उठाइन् । सो तौल समूहमा भारतले नै स्वर्ण जित्न सफल भयो । भारतकी राखी हल्डरले स्न्याचतर्फ ९० र क्लिन एन्ड जर्कमा ११० गरी २०० किलो उठाउँदै शीर्षस्थानमा रहिन् । यस्तै, श्रीलङ्काकी भी हर्षिकाले रजत जितिन् । उनले स्न्याचमा ७० र क्लिन एन्ड जर्कतर्फ एक सय गरी कूल १७० किलो भार बहन गरिन् । रासस