१८ कात्तिक, काठमाडौं । चर्चित र्‍यापर भिटेन उर्फ समिर घिसिङको विषयमा अर्का चर्चित एवं लोकप्रिय गायक सुगम पोखरेलले मुख खोलेका छन् । सोमबार राजधानीमा भएको एक कार्यक्रममा सुगम पोखरेलले भिटेनको पछिल्लो विषयमा आफ्नो धारणा राखेका हुन् ।

भिटेनको विषयमा तपाईंको धारणा के हो भन्ने विषयमा गायक पोरखेलले गायक आफैँमा सेन्सर हुनुपर्ने बताएका छन् । उनले भने, ‘कलाकारहरुले कुनैपनि व्यक्तिको नाम लिँदा सोच्नुपर्छ । आफैँमा सेल्फसेन्सर हुनुपर्छ ।’ कसको नाम लिएर उनीहरुलाई गाली गर्न संसारको कुनैपनि स्थानमा नपाइने बताउँदै गायक पोखरेलले रमाइलोको लागि कसैको नाम, जात, सम्प्रदाय र समुदायप्रति नराम्रो भन्न कदापी पाइँदैन ।

गीतमा राजेश हमालले बोलाउँदा सुटिङमा गइन भन्ने किसिमका शब्दहरु प्रयो गरिएको सन्दर्भमा बोल्दै गायक पोखरेलले भिटेनको पक्षमा बोले । ‘उनले गाएको गीतमा सम्मान नगरिएको भन्न मिल्दैन’, उनले भने, ‘राजेश दाइले बोलाउँदा गइन भन्नाले राजेश दाईलाई एकदमै ठूलो मानेर सम्मान गरेको हो ।’ गायक पोखरेलले गर्न मिल्छ भन्दैमा सबैकुरा गर्न नहुने बताएका छन् । ‘देखाउन मिल्छ र भन्न मिल्छ भन्दैमा सबैकुरा गर्न मिल्छ भन्ने छैन’, उनले भने, ‘कपडा लाको केही कुरा ढाक्नलाई हो ।’

यस विषयमा राजेश हमालसँग प्रश्न गर्दा उनले सुगमले भनेको कुरा ठिक हो भन्दै उनको कुरामा समर्थन जनाए । लोकतान्त्रिक परिवेशमा सिर्जनामा लगाम लगाउन नमिल्ने बताउँदै राजेश हमालले सरकारले सिर्जनाको क्याटेगोरी छुट्याएर हेर्न मिल्ने बनाउनुपर्नेमा जोड दिए । कसैले हल्काफुल्का शब्द प्रयोग गर्ला कसैले गहकिला शब्दहरु प्रयोग गर्ला त्यसलाई रोक्नु हुँदैन । सिर्जनालाई बाहिर ल्याउने माध्यम चाँही सरकारले चयन गरिदिनुपर्छ । उनले भने, ‘टेलिभिजनमा देखाउन मिल्नेलाई टेलिभिजनमा देखाउनुपर्छ, केही सामाग्रीहरु १८ वर्षभन्दा माथिकोले मात्र हेर्न मिल्ने भए त्यहि उमेरसमूहका माानिसहरुले मात्र हेर्नेगरी सरकारले नियमन गर्नुपर्दछ ।’

तिहारअघि चर्चित र्‍यापर भिटेन पक्राउ परेका थिए । उनको ‘हामी यस्तै त होनी ब्रो’ नामक गीतमा प्रहरीको पोषाकको गलत प्रयोग गरेको र अश्लिल शब्दहरु बोलको भन्दै प्रहरीले युट्युबबाट गीत हटाउन लगाएको थियो । पक्राउ गरेको भोलिपल्ट उनलाई साधारण तारेखमा छोडिएको थियो । भिटेन अहिले अर्को गीत सार्वजनिक गर्ने तयारीमा छन् ।