११ भदौ, काठमाडौं । आफ्नो पछिल्तिर दुईचार जना मान्छे भए भने त्यो मान्छेको सानै ठूलो हुन्छ । समाजमा पनि उसलाई राम्रै दृष्टिकोणले हेर्ने गरिन्छ, गाउँको मुखिया जस्तो उसले जे भन्यो त्यहि अन्तिम सत्य हुने गर्छ । तर त्यतिमै रमाइरहेको मान्छेको पछाडी जव एउटा ठूलो भीड नै लाग्छ त्यो मान्छेमा अनेक आकांक्षा पलाउनु अस्वभाविक होइन ।

त्यस्तै चर्चा अहिले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा उत्रिएकाे भीडकाे भइरहेको छ । आफ्नै पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको मुद्दामा लामिछाने ५ लाख रुपैयाँ धरौटी बुझाएर चितवन जिल्ला अदालतबाट सोमबार थुनामुक्त भए । उनी १० दिन प्रहरी हिरासतमा बस्दा चितवनमा उनका समर्थकहरुले व्यापक प्रदर्शन गरे ।

प्रदर्शनमा आएकाहरुलाई धन्यवाद दिन मंगलबार आयोजित सभामा उत्रिएको भीडलाई देखेर रविलाई राजनीतिमा तान्ने काम भइरहेको छ । उनले पनि राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । उनले पनि त्यसैलाई बल पुग्नेगरी भनेका छन्, “राजनीतिमा आउन चुकुल लागेको मात्रै हो ताल्चा लागेको छैन ।” यसले उनी चुनावका बेला कुनै पनि क्षेत्रबाट उम्मेदवार हुनसक्ने संभावनालाई नकार्न सकिन्न । तर भिडकै भरमा चुनाव लडेका एकजनाले रवि राजनीतिमा आउने भएपछि भीड र चुनावको सम्बन्ध खुलाउँदै आफ्नै पीडा उदाहरणस्वरुप पस्किएका छन् ।

सामाजिक अभियन्ता निलकण्ठ पौडेलले फेसबुकमा रविलाई भीडको भर नपर्न सुझाएका छन् । रविले राजनीति गरेर यो भीड जम्मा भएको होइन, त्यसैले रवि पत्रकार नै ठिक हुने उनको तर्क छ । उनले आफूले भाषण गरिरहेको भीडको फोटो सहित लेखेका छन्, “साँझ ६ सय भोट आउँछ भनेर ढुक्क भएर सहमति गरेर हिँडे राति विपक्षीबाट भैंसि नै ढालिएछ त्यहाँबाट १० भोट आयो ।”