महाभारत युद्धमा जब भीमका पुत्र घटोत्कच आए तब कौरव सेनाबीच खल्लीबल्ली मच्यो । कसैले पनि घटोत्कचलाई काबुमा राख्न सकिरहेका थिएनन् । तब कौरव सेनाका प्रमुखले कर्णलाई इन्द्रले दिएको दिव्य शक्ति प्रयोग गर्न भने । तर, कर्णले त्यो शक्तिशाली हतियार अर्जुनकलाई मार्न साँचेर राखेका थिए । किनकि, त्यो दिव्य शक्ति एक पटक मात्रै प्रयोग गर्न सकिने थियो र जुनसुकै शक्तिशाली मानव, दानव वा देवताको वध गर्न सक्षम थियो ।

घटोत्कचले सबै कौरव सेनालाई सखाप पार्न सक्छन् भन्दै सबै कौरव सेनाले कर्णलाई दिव्य शक्ति प्रयोग गर्न भने । सबैको कुरा मान्दै कर्णले घटोत्कचमाथि दिव्य शक्ति प्रहार गरे र मारिदिए । जब भीम पुत्र घटोत्कच मारिए, सबै पाण्डव दुःखी थिए, तर त्यस समय श्रीकृष्ण प्रसन्न देखिइरहेका थिए । यो देखेर अर्जुनलाई अचम्म लाग्यो ।

अर्जुनले ‘भीम पुत्र मारिएपछि पाण्डव सेना डराइरहेका छन् तर तपाई किन प्रसन्न ?’ कृष्णलाई प्रश्न गरे । यस प्रश्नको जवाफमा श्रीकृष्णले भने, ‘अहिले कर्णले घटोत्कचलाई मारेको देखिइरहेको छ, तर वास्तविकता यो हो घटोत्कचले चाहि कर्णलाई मारेका छन् ।’ यस कारण कृष्ण प्रसन्न देखिएका थिए । इन्द्रले कर्णसँग कुंडल र कवच पहिले नै लिएका थिए र कर्णसँग रहेको एउटै दिव्य शक्ति पनि घटोत्कचलाई मार्न प्रयोग भइसकेको छ ।

कर्णसँग भएको यो शक्तिबाट कौरवले युद्ध जित्न सक्थे, किनकि यस शक्तिलाई जित्ने शक्ति अर्जुनसँग पनि थिएन र कर्णले अर्जुनलाई मार्न साँचेर राखेका थिए । त्यसैले श्रीकृष्णले रणनीतिको माध्यमबाट घटोत्कचलाई युद्धमा लिएर आएका थिए ।