३० भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लिएको अडानप्रति आपत्ति जनाएका छन् ।

नेता रावलले संविधान विपरित नेपाली कांग्रेसले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अडान लिएको दाबी गर्दै आपत्ति जनाएका हुन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विधेयकबारे नेपाली कांग्रेसले लिएको अडान संविधान विपरित भएकाले त्यसलाई तत्काल पारित गर्न पनि राज्य व्यवस्था तथा सुशासन समितिलाई दवाव दिए ।

समितिको बैठकमा नागरिकता सम्बन्धि विधेयकमा वैवाहिक अंगीकृत नागरिकता दिन नेपाल नागरिक ऐन, २०६३ कै व्यवस्थालाई निरन्तरता दिनुपर्ने कांग्रेसको फरक मत छ । नेता रावलले शिर्ष तहमा छलफल गरेर संविधान बनेकाले नागरिकताका सम्बन्धमा फेरी शिर्ष तहका राजनीतिक सहमति जुटाउने बहाना बनाएर नेपाली कांग्रेसले मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने षडयन्त्र गरिरहेको दाबी गरे ।

नेता रावलले विगतमा पनि नेपालको राष्ट्रिय हित विपरित विदेशीलाई नेपाली नागरिकता दिइएको उल्लेख गर्दै त्यसलाई छानवीन गरेर विदेशी नागरिकले लिएका नेपाली नागरिकता सबै खारेज गर्न पनि सरकारसँग माग गरे । त्यसका लागि छानवीन गर्न उच्चस्तरीय छानवीन समिति गठन गर्नुपर्ने नेता रावलको भनाई छ । नेता रावलले विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएर नेपालको राष्ट्रियतालाई कमजोर बनाउन नदिन सबै राजनीतिक दल तथा नागरिक समुदायलाई पनि सचेत गराए ।