२४ फागुन, काभ्रे । मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार शुक्रबार बेलुका मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सा भन्ने स्थानमा ठुल्दिबेँसीबगरबाट रामपुर ज्यादीतर्फ बालुवा लिई जाँदै गरेको बा ३ ख ७१२१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।

मिनी ट्रक सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा चालक मण्डनदेउपुर नगरपालिका–१२ बस्ने अन्दाजी २१ वर्षीय रोशन ठकुरी र सोही ठाउँका सहचालक अन्दाजी १६ वर्षीय दिलीप ठकुरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

मृतक दुवैको शवपरीक्षणका लागि बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस