१ भदाै, एजेन्सी । भुटानको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको थियो । डा पेमा भुटानको राष्ट्रिय सभामा मुख्य विपक्षी दलका नेता हुन् । आइतबार नै रोयल युनिभर्सिटी भुटानमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुवै देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक परम्पराले विशिष्ट स्थिति निर्माण गरेको र सम्बन्ध अझ प्रगाढ बनाएको चर्चा गरे।

प्रधानमन्त्री मोदीले भुटानसँग जलविद्युत बाहेकका अरु क्षेत्रमा पनि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । त्यस समारोहमा विद्यार्थीहरुका साथै सांसदहरुको बाक्लो उपस्थिति थियो । उक्त सम्बोधनपछि प्रधानमन्त्री मोदीले चोर्तेनको भ्रमण गरी खद्दर अर्पण गर्नुका साथै दीप प्रज्ज्वलन गरेका थिए । मोदी भुटानको दुई दिने भ्रमणका सिलसिलामा शनिबार त्यहाँ पुगेका हुन् । भ्रमणका क्रममा ७२० मेगावाटको मे¬ङदेछु जलविद्युत परियोजनाको शुभारम्भ गर्नुका साथै भारतीय अन्तरिक्ष विज्ञान संस्थान (इस्रो)को ग्राउन्ड अर्थ स्टेसनको उदघाटन गरेका थिए ।

प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री लोटे छिरिङको उपस्थितिमा दुई देशबीच नौ वटा समझदारी पत्र र एउटा ऊर्जा खरिद सम्झौतामा हस्ताक्षर गरेका थिए । मोदी आइतबारै स्वदेश फर्कदैछन् ।