सलमान खाँन
petrol pump at rupandehi२३ साउन, भैरहवा । जिल्ला बजार अनुगमन समिति रुपन्देहीले अहिले बजार अनुगमन क्रम तिव्र पारेको छ । बुधबार भैरहवा तथा आसपास क्षेत्रका १० वटा पेट्रोल पम्पहरुमा गरिएको अनुगमनमा ३ वटा पेट्रोल पम्प दोषी देखिएपछि सिलबन्दी गरिएको जिल्ला बजार अनुगमन समिति रुपन्देहीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले बताए ।

अनुगमनका क्रममा भैरहवा बुद्धचोक स्थित संगम आयल कम्पनी प्रा.लि, नारायण पथको सिताराम बिहारीलाल आयल स्टोर्स र लुम्बिनी रोडको सर्राफ आयल स्टोर्स कार्यवाहीमा परेका छन् ।

यी पेट्रोल पम्पहरुले उपभोक्ताहरुलाई कम परिमाणमा पेट्रोलियम पदार्थ बिक्रि बितरण गरेको हुदा सिल गरि कार्यवाही गरिएको कुरुम्वाङ्गले बताए ।

संगम आयल कम्पनी प्रा.लि र सिताराम बिहारीलाल आयल स्टोर्सले डिजल प्रति ५ लिटरमा २० मिलि लिटर र सर्राफ आयल स्टोर्सले पेट्रोलमा प्रति ५ लिटरमा २० मिलि लिटर कम परिमाण बितरण गरी उपभोक्तालाई ठग्दै आएका थिए ।

प्रति ५ लिटरमा २० मिलि लिटर कम परिमाण बितरण गरे पनि दैनिक कम्तिमा ३ देखि ४ हजार रुपैया सम्मको ठगी हुने गरेको संयोजक कुरुम्वाङ्गको दावी रहेको छ ।

बजारमा पेट्रोलियम पदार्थ अनुगमन भइरहेको ब्यापारीहरुले जानकारी पाएपछि केही ब्यापारीहरुले पेट्रोल पम्प बन्द गरेको थिए । कार्यवाहीमा परेका लाई गुणस्तर तथा नापतौल ऐन २०२५ अनुसार कार्यवाही गरिने कुरुम्वाङ्गले बताए ।