३० बैशाख, काठमाडौं ।

गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गरेको स्पष्ट पारेका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा सचिव रेग्मीले भने, ‘सरकारले सुरक्षाको सम्पूर्ण प्रत्याभुति गरिसकेको छ, हामीले यो चुनावको लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएका छौं, कुनैपनि अप्रिय घट्ना नहोस् भनेर गृह प्रशासन निकै गम्भिरताका साथ रातदिन नभनी काम गरिरहेको छ ।’

सचिव रेग्मीले निर्वाचन लक्षित गरेर केन्द्रिय, क्षेत्रिय र स्थानीय सुरक्षा योजना अन्र्तगर्त नै गृह प्रशासनले काम गरिरहेको उल्लेख गर्दै देशैभर सरकारले बलियो सुरक्षा कबजभित्र राखेको स्पष्ट दावी गरे ।

उनले निर्वाचन विथोल्ने भनेर चेतावनी दिएपछि गृह प्रशासनले यसबारेमा व्यापक निगरानी बढाएर विभिन्न कारवाही बढाएपछि अहिले त्यस्ता घट्नाक्रमहरु पनि न्युन देखिएको बताए ।

उनले भने, ‘निर्वाचन विथोल्ने अनुमान देखिएपछि हामीले यसमा व्यापक निगरानी बढाएका थियौं, अहिले त्यस्तै घट्नाहरु अत्यन्तै न्यून देखिएका छन् ।’

उनले सुरक्षा योजनामा मतदाताहरुले मत हाल्ने आउनेदेखि लिएर मत हालेर घर फर्किउनजेलसम्म पनि सुरक्षाको बलियो व्यवस्था मिलाएको बताए ।

उनले भने, ‘पैदलमार्गमा नेपाली सेनाले गस्ती गरिरहेको हुनेछ, मत हाल्न आउनेदेखि लिएर घर फर्किउनजेलसम्म सरकारले बलियो सुरक्षाको प्रवन्ध गरेको छ ।’

सचिव रेग्मीले नेपालको भौगोलिक अवस्थाका कारण कतिपय ठाउँमा भीर, पाखा र डाँडा काँडा भएकोले गृहप्रशासनले सुरक्षा चेकजाँच केन्द्र समेत राख्ने व्यवस्था मिलाएकोले निर्भिक भएर मत हाल्नको लागि सम्पूर्ण मतदाताहरुलाई आग्रह गरे ।

उनका अनुसार हालसम्म सरकारले एक सय ७० जनाभन्दा बढिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।