काठमाडौं, २५ बैशाख । पिकअप भ्यानको पछाडि झुण्डिएका बागलुङको निसीखोलाका एक बालकको सडकमा खसेर मृत्यु भएको छ । अर्का एक बालक गम्भीर घाईते भएका छन् ।

बागलुङ निसीखोला ३ को बोहरागाउँमा लु १ च ६७५२ नम्बरको उक्त भ्यानबाट स्थानीय १२ बर्षिय लघु सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १२ बर्षकै बिष्णु सुनार गम्भीर घाईते भएका छन् । उनलाई उपचारका लागि पाल्पा स्थित मिसन अस्पताल पठाइएको प्रहरी उपरिक्षक कृष्णहरि शर्माले बताए ।

तीब्र गतीको भ्यान स्पिड ब्रेकरमा उफ्रिंदा पछाडी झुण्डिएका दुवै बालक खसेका थिए । गम्भीर घाइते दुवैलाइ उपचारका लागि बुर्तिवाङ ल्याउने क्रममा एकको मृत्यु भएको हो । घटनापछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङले भ्यान र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।