काठमाडौं, ५ वैशाख । भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा चर्चित नेपाल सरकारका उपसचिव प्रेम सञ्जेललाई नै भ्रष्टाचारको मुद्दा लागेको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा प्रमुख हुँदा २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म हाजिर नै नगरी तलब भत्ता बुझेको भन्दै संजेल विरुद्ध मुद्दा परेको होे । श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत सञ्जेलले शुक्रबार आफूविरुद्ध परेको मुद्दामा अख्तियारमा बयान दिने भएका छन् ।

म छाती ठूलो बनाएर अख्तियारमा बयान दिनेछु’ संजेलले भने, ‘मैले सर्वोच्च अदालतको आदेशबमोजिमनै सो अवधिको तलबभत्ता बुझेको हुँ ।’ आफू भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मार्न चुनौती दिँदै संजेलले कोही कसैले मुद्दा हाल्दैमा आफूलाई कुनै फरक नपर्ने बताए ।
निर्वाचन आयोगको कार्यालयबाट नियमविपरीत सरुवा भएपछि सर्वोच्चले पुनःवहाली गर्दासम्मको समयावधि संजेल कार्यालयमा हाजिर भएका थिएनन् ।

‘मलाई मुद्दा चलिरहेको बखत् कार्यालयमा हाजिर गर्न दिइएन, काम गर्ने टेबल दिइएन, कार्यालयको नेमप्लेट हटाइयो,’ संजेलले भने, ‘अदालतले मेरो पक्षमा फैसला गरेपछि तलब भत्ता तथा सुविधा लिन पाइने निजामती ऐनले पर्याप्त ठाउँ दिएको छ ।’ आफूले बुझेको तलब भत्ताको विषयमा आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणमा पनि अदालतको आदेश अनुसार भएको विषय प्रमाणित भएको उनको दाबी छ ।