२१ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनसँगै हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।

नेपाल सनातन धर्म संस्कृति संगठनले आज काठमाडौमा गरेको कार्यक्रममा उनले निर्वाचनसँगै हिन्दु राष्ट्रबारे राष्ट्रिय जनमत संग्रह हुनुपर्ने बताएका हुन् । हिन्दु राष्ट्रको पक्षमा आम नागरिक रहेकाले पनि हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने पार्टीको मागलाई जनमत संग्रहबाट टुंगो लगाउन राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने उनको भनाई छ ।

हिन्दु राष्ट्र कायम गर्न माग गर्दै संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव समेत ठूला राजनीतिक दलहरुले बेवास्ता गरेपछि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनसँगै यसलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने उनले बताए ।

अध्यक्ष थापाले जनमत संग्रहबाट हिन्दु राष्ट्रबारे निर्णय लिन सरकार र राजनीतिक दलहरुलाई दवाव दिन आगामी असोज २३ गते सम्पूर्ण जिल्ला सदरमुकामहरुमा दवावमूलक कार्यक्रम संचालन गर्ने निर्णय गरिएको पनि बताए ।