१६ मंसिर, काठमाडौं । साझा पार्टीले देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लागि पर्ने जनाएको छ । पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै छिट्टै नै ‘साझा भुईंयात्रा’ को अभियानलाई देशव्यापी गर्ने जनाएको छ ।

पार्टीका प्रवक्त डाक्टर सुर्यराज अर्यालद्वारा जारी विज्ञेप्तिमार्फत पार्टीले उपनिर्वाचनमा विजयी सबै उम्मेदवारहरूलाई हार्दिक बधाई तथा जन प्रतिनिधिको रूपमा जनताका आकाङ्क्षा सम्बोधन गर्नमा सफलता मिलोस् भन्दै शुभकामना व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टीले उपनिर्वाचनको नतिजालाई आफ्ना कमी–कमजोरीको समीक्षा गर्नु पर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको छ । हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नु पर्ने हुन्छ। नेपाल रूपान्तरणको राजनीतिक यात्रामा हामी रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।’

राजनीतिक पार्टीको जनतासँगको प्रत्यक्ष सम्बन्धका लागि तल्लो तहसम्मको पार्टी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुने भएता पनि साझा पार्टीको सङ्गठन सञ्जाल बन्ने क्रममा नै भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । संगठन सञ्जालको अभावमा साझा पार्टी के हो, के होइन, यसले के गर्छ, के गर्दैन भन्ने जस्ता पार्टीबारेका आधारभूत जानकारी जनता माझ राम्रोसंग सम्प्रेषण हुन नसकेको पार्टीको स्वीकारोक्ती छ ।

‘पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता–शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ । विधिको शासन भत्काइएको छ । जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ । गाउँ–टोलमा ठुला दलसँगको आबद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

साझा पार्टीले आफ्ना मतदाताको साथै ‘मत’ नबदले पनि ‘मन’ बदलेर पार्टीप्रति आशा र भरोसा राख्ने ठुलो जमातलाई पनि धन्यवाद दिँदै गल्ती–कमजोरीबाट पाठ सिकेर आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्न कटिबद्ध जनाएको छ ।

केही दिनमा शुरु हुने ‘साझा भुइँयात्रा’मा साझा पार्टीका विचार, नीति र एजेन्डा जनता समक्ष प्रस्तुत र छलफल गर्ने र जनताका आकाङ्क्षा र पार्टीप्रतिको अपेक्षाका बारेमा सुन्ने पार्टीले जनाएको छ । विज्ञप्तिमा साझा पार्टी नेतृत्वकर्ताहरूको खोजी गर्नुका साथै सङ्गठन विस्तार गर्ने उल्लेख गरिएको छ ।