२२ भदौ, काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी मदनवादी समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा आज आयोजित एक समारोहमा सो समूहलाई पार्टीमा स्वागत गरे । पार्टीमा स्वागत गर्दै अध्यक्ष दाहालले देशको समृद्धि र समाजवादको लक्ष्य पूरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टी एकजुट हुनुपर्ने बताए । उनले नेकपामा समाहित हुने निर्णय सही भएको र अन्य समूहलाई समेत सङ्गठित र एकीकृत गर्दै लैजाने विश्वास दिलाए । राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा विस्तार गरिने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले भने, “पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने जिम्मेवारी सबै कम्युनिष्टको काँधमा आइपुगेको छ ।” मदनवादी समूहका प्रवक्ता विष्णुप्रसाद ढुङ्गानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेकपामा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता देखिएकाले आफूहरु नेकपामा समाहित भएको बताए । कार्यक्रममा नेकपा प्रदेश नं २ का अध्यक्ष प्रभु साहलगायतको उपस्थिति रहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।