काठमाडौं, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस आगामी जेठ ३ गते पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताएका छन् ।

युवा सङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित एक समारोहमा सहभागी नेताहरुले तीन गते नटुङ्गिए जेठ महीनाभित्रमा भने नयाँ सन्देश जाने कार्यकर्तालाई विश्वास दिलाए । पार्टी एकीकरण घोषणा भएको एक वर्ष पुग्नै लाग्दा एकता प्रक्रिया टुङ्गोमा नपुगेको भन्दै कार्यकर्ताले चासो लिइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला कमिटीबाट ढोका उघारिसकिएकाले एकीकरण टुङ्गिने कुरामा कार्यकर्तालाई आश्वस्त पारे ।

अघिल्लो वर्ष जेठ ३ गते स्मरण गर्दै उनले भने, “अहिले पनि हाम्रो कोशिश छ, ३ गते सबै घोषणा गरिदिउँ, भएन भने टेन्सन नलिनुहोला ४, ५ वा ६ गते होला केही फरक पर्दैन हामी टुङ्ग्याउँछौँ, यो कुरामा तपाईंहरु विश्वस्त हुनुहोस् । यदि तपाईंहरुले जोड गर्नुभयो भने युवाको चाहिँ आगामी जेठ ३ गते सक्न पनि सकिन्छ ।”

युवाको भावना आफूले बुझेकाले बिहीबार बिहान सम्भवतः बैठक बस्ने जानकारी गराउँदै उनले चाँडै नै जनसङ्गठनको एकीकरण सक्नेमा आफ्नो जोड रहने बताए। राष्ट्रको आवश्यकता, कम्युनिष्ट आन्दोलन र जनताको भावनाको सम्मान गर्दै अध्यक्ष दाहालले ऐतिहासिक आवश्यकतालाई सम्बोधन गर्न नेतृत्वद्वारा गरिएकोे ऐतिहासिक पहल कदमीबाट पार्टी एकता भएको स्मरण गरे । वामपन्थी र दक्षिणपन्थी विचारलाई विमर्श गर्दै विचारलाई विकास गर्न सक्ने मात्रै सच्चा कम्युनिष्ट हुने तर्क गर्दै अध्यक्ष दाहालले विचारलाई निरन्तर परीक्षण, प्रयोग र विकसित गरेमा मात्रै समाज राष्ट्र र मानवजातिको हित हुने उल्लेख गरे ।

वर्ग समाज रहेसम्म दुई विचार कायमै रहने भएकाले परिवर्तन र विचारको शुद्धताका नाममा पार्टीलाई एकपछि अर्काे शृङ्खलाबद्ध ढङ्गले विभाजनतर्फ लाने र एक्लै भए पनि म सही छु भनेर दम्भ गरिराख्ने हानिकारक प्रवृत्तितर्फ युवा सचेत हुनुपर्नेमा उनले जोड दिए । यस्ता विचारलाई चिर्दै परिवर्तनको दिशामा जानेमात्रै सच्चा कम्युनिष्ट हुने उल्लेख गर्दै अध्यक्ष दाहालले एउटा विचार जे छ त्यही सही भनेको भए ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासम्म आइ नपुग्ने भनाइ राखे ।

उनले विसं २०३८ देखि नै आफ्नो जीवन एकपछि अर्काे निरन्तरता र त्यसलाई भङ्ग गर्नेबाट बित्दै आएको र यो पार्टी एकता पनि त्यही निरन्तरतामा क्रमभङ्गताकै नयाँ कडि हो भने। आलोचना गर्न सिक भन्ने माक्सवादको उक्ति जस्तै आफू आलोचनाबाट नडराउने नेता भएको दाबी गर्दै अध्यक्ष दाहालले परिवर्तनकारी हुनेले मात्रै गल्ती गर्ने र नयाँ विकास गर्नसक्ने बताए । “गल्ती नगर्ने मान्छे इतिहासमा भेटिँदैन, यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ, मान्छे आलोचनात्मक हुन सिक्नुपर्छ, अन्धभक्त हुनुभएन दास जस्तो त कम्युनिष्ट हुनै सक्तैन”, अध्यक्ष दाहालले भने।

पार्टी, युवा र जनताप्रति ठूलो विश्वास रहेको बताउँदै उनले आफू जुनसुकै अवस्थामा पनि लचक हुन तयार रहेको उल्लेख गरे । “जति लचिलो हुन पनि आफूलाई कुनै कठिन हुँदैन, यदि तपाईँकाे साथ भयो भने बाँकी जीवन अझै केही नयाँनयाँ गरेर मर्न मन छ, सबैको साथ चाहिएको छ, मेरो पनि सबैमा साथ रहन्छ”, उनले थपे । अध्यक्ष दाहालले युवामा उत्साह जोश र जाँगर देख्दा आफू उत्साहित भएको बताए ।

विसं २०३८ माघ १७ मा भारत कुसीनगरको भेलाबाट २६ वर्षको उमेरमा अखिल नेपाल युवक सङ्घको संस्थापक अध्यक्ष बनेको स्मरण गर्दै उनले पार्टीका दुवै अध्यक्ष युवासङ्घको संस्थापक अध्यक्ष हुनुको संयोग निकै उत्साहपूर्ण रहेको बताए । विश्वमा भएका कम्युनिष्ट आन्दोलन युवाकै योगदानमा सफल भएकोसमेत उनले बताए ।

प्रगति यथेष्ट छैन: नेता नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्टको भरपर्दाे शक्ति नै युवा भएको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई कसरी जोगाउने भन्नेतर्फ ध्यान दिन युवालाई आग्रह गरे। देशले सामाजिक न्यायसहितको समृद्धि चाहेको उल्लेख गर्दै नेता नेपालले विश्वमै नेपालको समाजवादी आन्दोलन बलियो र सु–संस्कृत रहेको जिकिर गरे । सफलता हासिल गर्नेवित्तिकै अहङ्कार बढ्ने चरित्रले उपलब्धि गुम्न सक्नेतर्फ सङ्केत गर्दै नेता नेपालले चुनौतीलाई सामना गर्ने गरी योजना बनाउनुपर्ने आवश्यकता औँल्याए ।

“अहिले पनि प्रगति यथेष्ट छैन, ५५ प्रतिशत मात्रै मत हामीले प्राप्त गरेकाछौँ हाम्रो काम र व्यवहारले मात्रै जनतताको मत जित्न सकिन्छ, यसतर्फ ध्यान दिनुपर्छ”, नेता नेपालले भने। नेकपाका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको नयाँ युगमा प्रवेश गरिसकेकाले समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रियता सुदृढ बनाएर सीमाको रक्षा र सुशासन कायम गरी सामाजिक आर्थिक रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिए ।

उनले संस्कृतिको रुपान्तरणलाई महत्व दिँदै विश्वसँग सन्तुलित सम्बन्ध सुधारको प्रयास जरुरी रहेको औँल्याए। कार्यवाहक प्रधानमन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले दुई सङ्गठन एक हुने सङ्घारमा रहेको उल्लेख गर्दै छिट्टै एकता भएको सुन्ने अपेक्षा रहेको बताए । उनले पार्टी नयाँ ढङ्गले अघि बढ्न खोज्दै गर्दा विचारमा स्पष्टता हुनु जरुरी रहेको बताउँदै उनले शृङ्खालाबद्ध कमिटी प्रणालीको विकास गर्न नसके विश्वका अन्य कम्युनिष्टको जस्तै दुर्भाग्य भोग्न सक्ने चिन्ता प्रकट गरे।

“तजविजका हिसाबले चल्यो भने नेतृत्व गर्न सक्दैन, विगतका अनुभवबाट शिक्षा लिनुपर्छ, युवालाई सहभागी गराएर योजनाबद्ध नेतृत्वको आवश्यकता छ”, पोखरेलको भनाइ छ । नेकपाका महासचिव विष्णु पौडेलले गणतन्त्र स्थापनाका लागि युवाले खेलको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै पार्टीले एकीकरणका विषयमा निकालेको निष्कर्ष मदनभण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा सार्वजनिक हुने बताए ।

कार्यक्रममा युवासङ्घ नेपालका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष किरण पौडेल, योङ्ग कम्युनिष्ट लिग नेपालका अध्यक्ष रामप्रसाद सापकोटा लगायतले आफ्ना विचार राखेका थिए । कार्यक्रममा युवा सङ्घले जनवादी गायक जेवी टुहुरे र जीवन शर्मालाई सम्मान गरिएको थियो । यस्तै युवासङ्घलाई सहयोग गर्दै आएका गोविन्द धिताललाई रु तीन लाख १२ हजारसहित सम्मान गरिएको थियो । रासस