९ मंसिर, काठमाडौं  । मधेस टुक्र्याउने नारा दिएर एकपटक निकै चर्चामा आएका सीके राउत अन्ततः रंगभेद राजनीतिमा उत्रिएका छन् । जनमत पार्टीले काठमाडौंमा गएको शनिबार मधेसीलगायतका समुदायमाथि रंगको आधारमा विभेद हुने गरेको भन्दै त्यसका विरुद्धमा उक्त विरोधसभा आयोजना गरेको थियो ।

शुरुमा मधेस टुक्र्याउने कुरा गर्ने उनले किन उठाउन पुगे त रंगभेदको मुद्दा ? अमेरिकामा अध्ययन गरेका राउत अमेरिकी महादेशमा गोराहरुबाट कालाहरुमाथि हुने गरेको रंगभेदी विभेद र लामो समयदेखि चल्दै आएको उक्त आन्दोलनबाट निकै प्रभावित देखिन्छन् । तर नेपालमा रहेको जातीय विभेद अमेरिकामा रहेको जस्तै रंगभेद विभेद हो त भन्नेमा उनी प्रष्ट भने छैनन् ।

उनलाई लागेको छ यो मुद्दामा मधेसी समुदायको मनोभावना समेटेर मधेस केन्द्रीत राजनीति गर्न सकिन्छ । त्यसैले पनि उनले रंगभेद विरुद्धको विरोध सभामा केन्द्रीय सत्तालाई भन्दा मधेसी पार्टीहरुलाई बढी नै खेदे पनि । केन्द्रीय सत्ताले आफूहरुलाई सधै विभेद गरेको भन्दै गर्दा उनले सबैभन्दा बढी त मधेसी भन्ने दलहरु र तिनका नेताहरुले नै मधेसीमाथि अन्याय गरेको बताए । उनको भनाइमा ‘धेरै नेताहरु मधेसीको नाम लिएर सरकारमा गए, उनीहरु सबैले मधेसीलाई ढाँटे ।’ तर उनी र उनको पाटीले कुनै पनि सरकारी पद र सत्ताको लागि नभई रंगभेदविरुद्ध लगेको बताए ।

विगत ७ वर्षदेखि कुनै पद र सत्ताको लागि नलडेको भन्दै अरुले मधेसलाई बेचेर, सहिद बनाए, नाकाबन्दी लगाएर, सारा व्यापार–व्यवसाय चौपट पारिदिएर, आफैँले नाकाबन्दी लगाएर आफैँले तेलको तस्करी गरेर मधेसी जनतालाई नै सताएको कुराको खुलासा गरे ।

चुनावको बेला प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘हत्यारा’ भन्दै आरोप लगाएर कुरा कोट्याउँदै राउतले सत्ताको लागि उनीसँगै घाँटी जोडेर सत्ता र शक्तिमा लिप्त भएको बताए । उनले थपेका थिए– ‘भोट माग्ने बेलामा ‘हत्यारा’ ओलीलाई भोट दिनु हुन्न रे, अहिले चाहिँ ओलीजीसँगै सरकारमा बसेर रमाउने ? यसले प्रष्ट देखाउँछ– उनीहरूको राजनीति पूर्णरुपमा सत्ताकै लागि हो ।’

मधेसीहरुलाई सधैं ठग्ने र भ्रममा राख्ने केही नेता र कार्यकर्ताहरुले अहिले पनि बेला न कुबेला स्वतन्त्र मधेसको कुरा गर्ने गरिरहेका बेला आफूहरु भने मूलधारको राजनीतिबाटै हकअधिकारहरु पूर्णरुपले सुरक्ष्ति गर्नेतर्फ अघि बढिरहेको बताए ।

नेपालमा रंगभेद भएको भन्दै उनले त्यो नेपाली समाजमा व्यापक रुपमा रहेको चर्चा गरे । रंगभेद भएकै कारण दिनहुँ रंगभेदी व्यवहारहरु हुने गरेको उनको दाबी छ । राउत आफैँ प्रश्न गर्छन्– ‘रंगभेद कहाँ छ भनी तपाई किन सोध्नुहुन्छ ? बरु कुन पाइलामा रंगभेद छैन ? सिंगो नेपाली समाजभित्र रंगभेद छ । राउतले मधेसमा जनाधार भएको पार्टी भनेको आफ्नो पार्टी मात्रै भएको समेत दाबी गरेका छन् ।