३० भदौ, रौतहट ।

रौतहटको गौरबाट पक्राउ परेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका पाँच जिल्लास्तरीय नेताविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

केही दिनयता रौतहटमा जारी आन्दोलनमा सक्रिय रही जिल्लाको शान्ति सुरक्षामा खलल पु-याएको भन्दै प्रहरीले यही भदौ २८ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

मोर्चाका सदस्य एवम् मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का जिल्ला अध्यक्ष अजय गुप्ता, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसेद, तराई मधेस लोकतान्त्रिक पार्टीका अनील सिंह, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर यादव र रामेश्वरप्रसाद यादवविरुद्ध सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाउन सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

शान्ति सुव्यवस्थामा खलल पु-याउने गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले बताए । रासस