२६ भदौ, म्याग्दी । बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ ।

निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले जानकारी दिए । उनले निष्पक्ष छानविनको मागसमेत गरेका छन् ।

आगलागीबाट तीनवटै जेसिभी जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पटक–पटक अज्ञात समूहले धम्की दिने गरेको भए पनि आगलागी कसले गरेको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ । घटना गएराति १२ बजेतिर भएको हुनसक्ने अनुमान गरिएको छ ।