६ फागुन, काठमाडौं । चौथो संस्करणको धनगढी प्रिमियर लिग २०७७ सालको दशैँको अष्टमीको दिनदेखि शुरु हुने भएको छ । आयोजक धनगढी स्पोट्स एकेडेमीले खेल २०७७ कात्तिक ८ गतेदेखि २२ गतेसम्म हुने जानकारी गराएको हो ।

यसअघि एकेडेमीले फागुन ३ देखि १५ गतेसम्म जानकारी गराएको थियो । खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने छ । ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहँदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सीवाईसी अत्तरियाले जितेको थियो ।

देशकै सर्वाधिक राशिको प्रतियोगिता समेत रहेको डीपीएलको अघिल्लो विजेता सीवाईसी अत्तरियाले ३० लाख रुपैयाँ हात पारेको थियो । खेल दशैँमा हुने मिति सार्वजनिक भएसँगै फेरि पनि मिति सर्नसक्ने सम्भावना बढेको छ । नेपालीहरुको महान चाड दशैँको मध्यदिनमा प्रतियोगिता राख्दा खेल हेर्ने दर्शकको संख्यामा भने कमी आउन सक्ने विश्लेषण गरिएको छ ।

यसअघिका दुवै संस्करणको उपाधि साबिक धनगढी टिम चौराह हालको (धनगढी स्टार्स)ले जितेको थियो । लिगमा रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।