२० मंसिर, काठमाडौं । चर्चित एवं लोकप्रिय नायक प्रदीप खड्का स्टारर चलचित्र ‘प्रेम गीत ३’ को सुटिङ अहिले धमाधम चलिरहेको छ । चलचित्रको टीम काठमाडौंमा बनाइएको सेटको सुटिङ सकेर अहिले थप सुटिङका लागि मनाङ पुगेको छ ।

त्यहाँ केही दिनको सुटिङपछि चलचित्र युनिट काठमाडौं फर्किर चलचित्रको पोस्ट प्रोडक्सनको काम थाल्ने निर्माता एवं निर्देशकमध्येका एक सन्तोष सेनले जानकारी दिए । निर्माता सेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा चलचित्र सुटिङका केही तस्बिरहरु राखेका छन् । तस्बिरमा प्रदीप खड्का र क्रिस्टिना गुरुङको साथमा उनी पनि देखिएका छन् । तस्बिरको साथमा उनले चलचित्रको तीन पात्रको नाम लेख्दै प्रर्दशन मिति लेखेका छन् ।

चलचित्रमा प्रदीप खड्का ‘प्रेम’को रुपमा देखिँदैछन् भने क्रिस्टिना ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । चलचित्रको निर्माण टीमले केहीदिन अघि मात्र एक पोस्टर सार्वजनिक गरेको थियो । पोस्टरमा नायक शिव श्रेष्ठको रुप देख्न सकिन्छ । चलचित्रमा उनी नकारात्मक भूमिकामा देखिन लागेको निर्माता सेनको भनाइ छ ।

चलचित्रमा पौराणीक कथामा आधारित हुने निर्माण टीमले जनाएको छ । केही साता अघि सार्वजनिक चलचित्रको मोसन पोस्टरमा पनि चलचित्रमा तरबार चलाएको आवाज स्पस्टै सुन्न सकिन्छ भने सार्वजनिक पोस्टरमा नायक शिव श्रेष्ठलाई पौराणीक भेषभुषामै देखिएको छ ।

चेतन गुरुङ र मन्दीप गौतमले लेखेको फिल्मलाई चेतनसँगै सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

कुमार शान शाह र ओएसआर डिजिटल सह–निर्माताको रुपमा रहेको चलचित्र आशुषेन फिल्म्स्को ब्यानरमा बन्न लागेको हो । चलचित्रमा कल्याण सिंह र एलिस कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविसा अधिकारीले गीतमा स्वर भर्नेछन् ।