२९ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोश्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

पहिलो हाफमा आर्मीविरुद्ध मनाङले २–१ को अग्रता बनाएको मनाङले दोश्रो हाफमा एक गर्दा अर्को गोल खान पुग्यो । पहिलो हाफमा मनाङका लागि फ्लोरेन्ट र विमल रानाले एक–एक गोल गरे । आर्मीका भरत खवासले एक गोल फर्काए । त्यस्तै दोश्रो हाफमा मनाङका अञ्जन बिष्टले १ गोल गर्दा आर्मीका दीपकुमार लामाले सान्त्वना गोल गरे ।

अब मनाङ मर्स्याङ्दी क्लबले उपाधिका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग शनिबार भिड्नेछ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।