‍२८ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्तृका प्रसाद यादवले आफूलाई अन्याय नगर्न सांसद्हरुसँग आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरुसंग वृहत छलफल गरी योजना बनाउने काम भएको भन्दै उहाँले अनुगमन र कारवाही गरेको पनि सुन्न र देख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘योजना बनाएको मात्रै सुन्नुभयो, थुप्रै अनुगमन गरेको छु, थुप्रै कारवाही गरेको छु, त्यो चाहीँ सुन्नुभएन ?’, मन्त्री यादवले भन्नुभयो, ‘मलाई आश्चर्य लाग्छ, एकातिर मात्रै सुन्ने कि दुईटै कानले सुन्ने हो, योजना मात्रै सुन्नुभयो, अनुगमन गरेको कारवाही गरेको सुन्दिनुभएन भने त मन्त्रीप्रति अन्याय हुन्छ, अन्याय नगर्दिनुहोला ।’

सरकार जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउन, कालोबजारी रोक्ने विषयमा सरकार प्रतिवद्ध रहेको मन्त्री यादवको भनाइ छ । उहाँले नेपालमा आयात हुने तरकारी तथा फलफुलमा ८० प्रतिशत सम्म विषादी पाइएको भन्ने कुरामा सत्यता नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘असार मसान्त सम्म ३ हजार ७ सय ४४ वटा नमुना परीक्षण गरिएकोमा ३ हजार ७ सय २९ वटामा ३५ प्रतिशत भन्दा कम देखिएको, १३ वटा नमुनामा ३५ भन्दा बढी देखिएको र २ वटा मा ४५ भन्दा बढी प्रतिशत विषादी प्रयोग भएको पाईएको छ ।’

उहाँले विषादी जाँच गर्न रोकिएको भन्ने कुरा पनि सत्य नभएको स्पष्ट पार्नुभयो । उहाँले सबै स्थानमा उच्चस्तरीय परीक्षण प्रयोगशाला नभएको राजधानी ल्याएर परीक्षण गर्ने गरिएको बताउनुभयो ।

उहाँले नेपाल भारतबीच मध्य पहाडी लोकमार्गको उद्गम स्थल चिवाभञ्याङ्गमा व्यापारिक नाका स्थापना गर्ने योजना नभएको र थप नाका स्थापना गर्नुपर्ने देखिएमा दुईपक्षीय वार्ता गरेर मात्रै स्थापना गरिने स्पष्ट पार्नुभयो ।