७ कात्तिक, काठमाडौं । संसद सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालई काठमाडौं जिल्ला अदालतले फेरि म्याद थपेको छ ।

प्रहरीले अनुसन्धान अझै नसकिएको भन्दै समय मागेपछि अदालतले आज ७ दिनको म्याद थपेको हो । अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेले महरालाई हिरासतमा राख्न अनुमति दिएका हुन् । यसअघि नै बयान लिइसकेपनि प्रहरीले महरा र पीडित भनिएकी महिलाको मोबाइल कल डिटेल्स र डिएनए परीक्षणको रिपोर्ट आइनसकेको भन्दै म्याद मागेको थियो ।

अदालतको यो अनुमतिसँगै महराको तिहार हिरासतमै हुने भएको छ । दशैंको अष्टमीको दिन पक्राउ परेका महराको तिहार पनि प्रहरी नियन्त्रणमै हुने भएको हो । महरालाई प्रहरीले हिरासतमा राखेपनि अस्वस्थ भएको भन्दै उनी नर्भिक अस्पतालमा छन् । प्रहरीले उनलाई अस्पतालबाटै अदालत पुर्याउने ल्याउने गरिरहेको छ ।

अब महरालाई तिहार विदा सकिएर अदालत खुलेपछि कात्तिक १४ गते अदालतमा पेश गरिनेछ । त्यतिबेला थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले महरालाई साधारण तारखे वा धरौटीमा छोड्नुका साथै पूर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्नेछ ।

महरालाई संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो । तर शाहीले पछि महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको भन्दै अदालतमा निवेदन दिएकी छिन् ।