१५ कात्तिक, काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस अहिले चलिरहेको छ ।

बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा महराको पक्षमा रहेका वकिलहरु र सरकारी वकिलबीच थुकछेक बहस चलिरहेको छ ।

महरालाई सरकारी वकिलको कार्यालय, काठमाडौंले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारागार चलान गर्नै अदालतले फैसला गर्नेछ ।

केही विश्लेषकहरुले उनी धरौटीमा रिहा हुने सम्भावना बताइरहँदा केहीले भने प्रमाणहरु बलियो भएका कारण छुट्ने सम्भावना नभएको बताइरहेका छन् । यद्यपि उनि जेल जाने वा रिहा हुने भन्ने विषयको टुङ्गो साँझसम्म जिल्ला अदालतले गर्नेछ ।