१८ कात्तिक, काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ ।

हिजो आइतबारदेखि सुरु भएको बहस आज सकिएको हो । आज महराको पक्षमा पूर्व महान्यायाधिवक्ता एवं बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, बरिष्ठ अधिवक्ताहरु सबिता भण्डारी बराल, शेरबहादुर केसी र कृष्ण सापकोटाले बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस सकिएपछि केहीबेरमा आदेश आउनेछ । अदालतले महरलाई मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्म छाड्ने वा पूर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ ।

थुनछेक बहस चलिरहँदा बलात्कार आरोप लगाउने रोशनी शाही पनि अदालत पुगेकी थिइन् । उनले पछिल्लो पटक अदालतमा बयान फेर्दै आफूलाई महराले बलात्कार प्रयास नगरेको बताएकी छिन् । आज उनलाई न्यायाधीशले आफ्नो कुरा राख्न दिएनन् ।