३ पुस काठमाडौं । बलात्कार प्रयासको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतकै आदेश सदर गरेको छ ।

फाइल फाेटाे

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । काठमाडौं जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश खारेजको माग गर्दै महराले उच्च अदालतमा निवेदन दिएका थिए । काठमाडौं जिल्ला अदालतको आदेश सदर भएसँगै महरा मुद्दाको अन्तिम टुंगो नलागेसम्म जेलमै रहनेछन् । यद्यपी उनलाई सर्वोच्च जाने अधिकार भने रहनेछ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई उनकै कोठामा गएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले उनलाई असोज १९ गते सभामुख निवास बालुवाटारबाटै पक्राउ गरी मुद्दा चलाएको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । महरा अहिले डिल्लीबजार कारागारमा रहेका छन् । उनको काठमाडौं जिल्ला अदालतमा केही दिनयता बकपत्र पनि चलिरहेको छ ।