१४ असोज, काठमाडौं । प्रतिनिधि सभाको सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । सोमबारदेखि उनीमाथि तीनकुनेमा बस्दै आएकी प्रतिनिधि सभाकै कर्मचारीले बलात्कारको आरोप लगाएपछि उनले मंगलबार पदबाट राजिनामा दिएका हुुन् ।

‘मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताको आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिदासम्मका लागि राजीनामा दिएको छु’, राजीनामा पत्रमा भनिएको छ ।

उनीमाथि संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महराले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् र सभामुख महरा आइतबार राति रक्सीले मातेर आई आफूमाथि दुव्र्यवहार गरेको कर्मचारीको आरोप छ ।

आइतबार बेलुकी डेरामा पुगेका महराले श्रीमान् नभएको बेला आफूमाथि दुर्व्यवहार गरेको ति महिलाको आरोप छ । प्रहरी वृत्त नयाँ बानेश्वरले भने यसबारे कुनै उजुरी नपरेको र थाहा नभएको प्रतिक्रिया दिएको छ । तर पीडित भनिएकी महिलाले भने बानेश्वरबाटै आएको प्रहरीले आइतबारै आफ्नो कोठाको वस्तुस्थिती फोटो खिचेर लगेको दाबी गरेकी छिन् ।