२१ कात्तिक, काठमाडौं । बलात्कार प्रयासको आरोपमा पूर्पक्षमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देव गुरुङबीच भेट भएको छ ।


महरालाई भेट्न नेता गुरुङ विहान डिल्लीबजार कारागार पुगेका थिए । पक्राउ परेदेखि नै परिवारका सदस्यबाहके अरुसँग भेट्न अस्वीकार गर्दै आएका महराले गुरुङसँग भने मुद्दाको विषयमा कानुनी परामर्श गर्न खोजेपछि भेट भएको हो । भेटमा महराले अबको कानुनी प्रक्रियाबारे जानकारी लिएको गुरुङले बताए ।

मुद्दाको प्रक्रियामा कसरी अघि बढ्दा ठिक हुन्छ भनेर कानुनी परामर्शबारे छलफल भएको नेकपाका प्रमुख सचेतकसमेत रहेका गुरुङको भनाई छ । संसद सचिवालयमै कार्यरत रोशनी शाहीले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते सभामुख निवास बालुवाटारबाटै पक्राउ गरेको थियो । उनलाई काठमाडौं जिल्ला अदालतले मुद्दा किनारा नलागेसम्म पूर्पक्षका लागि कारागार चलान गरेको हो ।